अस्ट्रेलियाका नेपाली विद्यार्थीको गुनासो : कलेजले फी मागेर हैरान बनायो
न काम छ न कलेज । पलपल नेपाल र गाउँघरको याद आउँछ तर कोठामै बस्नुको विकल्प छैन । न नेपाल फर्किन सक्ने अवस्था छ न अब अस्ट्रेलियामै भविष्य के हुने हो भन्ने सुनिश्चित छ । अध्ययनका लागि अस्ट्रेलिया पुगेका थुप्रै विद्यार्थीका लागि अहिले अर्को तनाब थपिएको छ ।
अस्ट्रेलिया सरकारले लकडाउन गरेर घरमै बसेका विद्यार्थीसँग कलेजले शुल्क माग्दै इमेल पठाउन थालेपछि धेरै विद्यार्थीमा अहिले तनाब बढेको हो । अध्ययनका लागि पुगे पनि अस्ट्रेलिया पुगेका अधिकांश विद्यार्थीले काम गर्दै कलेजको फी तिर्छन् ।
यतिबेला लकडाउनका कारण काम गर्ने अवस्था छैन तर कलेजले फी माग्दै इमेल गर्न थालेपछि तनावमा परेको विद्यार्थीको हकहितका आवाज उठाउँदै आएका सन्तोष आचार्यले बताए ।
‘हस्पिटल, नर्सिङको क्षेत्रका विद्यार्थीको काम चलिरहेको छ । रेस्टुरेन्ट, होटल तथा अन्य व्यवसायका क्षेत्रमा काम गर्नेहरु यतिबेला कोठामै छन्,’ आचार्यले अनलाइनखबरसँग भने, ‘कामविहीन भएर घरमै बसेका नेपाली विद्यार्थीसँग कलेजले फी माग्दै इमेल गर्न थालेपछि उनीहरु चिन्तित छन् ।’
अस्ट्रेलिया जाने धेरैजसो विद्यार्थी नेपालीले नै सञ्चालन गरिरहेको कलेजमा अध्ययन गर्छन् । अहिले ती नेपालीले सञ्चालन गरिरहेको कलेजले फी तिर्न ताकेता गर्दै इमेल गरिरहेका छन् । अस्ट्रेलियामा ब्यापार गरिरहेका, एनआरएन तथा सामाजिक संघसंस्था सञ्चालन गर्ने व्यक्तिहरुले चलाइरहेको कलेजले यतिबेला फी तिर्न ताकेता गर्दै इमेल गरिरहेको विद्यार्थीहरुले अनलाइनखबरसँग गुनासो गरे ।