पर्सा राष्ट्रिय निकुन्ज
२ नं. र ३ नं. प्रदेशको चितवन, मकवानपुर र पर्सा जिल्लाका केही भागहरू समेटेर पर्सा राष्ट्रिय निकुन्ज फैलिएको छ । यो चितवन राष्ट्रिय निकुञ्जको पूर्वपट्टिको विस्तारित क्षेत्र हो ।
५०० देखि ९५० मिटरसम्म अग्लो चुरे पर्वतले यसको सबैजसो भूमि ढाकेको छ । भावर प्रदेश भएको कारण भौगोलिक बनौट छुट्टै प्रकारको छ ।
नदीनाला सुख्खा देखिन्छन् भने पानी सतह मुनिबाट बग्दछ । चुरेको उच्च भागमा सल्लाका रूखहरू पाइए तापनि ९० प्रतिशत भूमि सालको जंगलले ढाकेको छ र राप्ती नदीको छेउछाउमा सिसौ र खयरका रूखहरू पाइन्छन् ।
केही दशक अगाडिसम्म यो क्षेत्रलाई प्रख्यात चारकोशे झाडी क्षेत्र भनिन्थ्यो र यसलाई प्रमुख शिकारस्थलको रूपमा लिइन्थ्यो ।
यहाँका प्रमुख जनावरहरू जंगली हात्ती, पाटेबाघ, चितुवा, जरायो, घोडगधा, बँदेल, गौरीगाई आदि हुन् । यस निकुन्जको लक्ष्य पुरानो चारकोशे जंगलको प्रतिनिधित्व गर्ने वन र वन्यजन्तुको संरक्षण गर्नु हो ।
वन पैदावार (ढुङ्गा, गिट्टी, बालुवा) को बढ्दो माग र क्रसर उद्योगहरूको विस्तारले गर्दा निकुन्जको जैविक विविधता संरक्षणमा समस्या सृजना भएको छ ।
निकुन्जभित्रको रामभोरी भाटा बस्ती स्थानान्तरण भएपछि सो क्षेत्रमा गैंडाको विचरण देखिन थालेको छ । रमौली र प्रतापपुर बस्ती स्थानान्तरण सम्पन्न भएको छ । निकुन्जको आम्दानीबाट मध्यवर्ती क्षेत्रका कार्यक्रमहरू संचालनमा रहेका छन् ।
- स्थापनाः २०४० साल (सन् १९८४)
- म. क्षे. स्थापनाः २०६२ साल (सन् २००५)
- क्षेत्रफलः ६२७.३९ वर्ग कि.मि.
- म. क्षे. क्षेत्रफलः २८५.३० वर्ग कि.मि.