नक्सा कार्यान्वयन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय
काठमाडौं । मन्त्रिपरिषद् बैठकले हालै जारी गरेको नेपालको प्रशासनिक तथा राजनीतिक नक्सा कार्यान्वयनका लागि संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नयाँ नक्सा कार्यान्वयनका लागि संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकको निर्णय दिउँसो १ बजे सिंहदबारमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ ।
भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको क्षेत्र समेटेर सरकारले नयाँ नक्सा जारी गरे पनि संविधानमा नभएपछि त्यसले वैधानिकता पाउँदैन ।
त्यसैले नयाँ नक्साको कार्यान्वयनका लागि संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्र रहेको नेपाली नक्सा परिवर्तनका लागि प्रस्ताव ल्याउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा बोल्दै केहीदिनमै संविधान संशोधनको प्रस्ताव ल्याइने जानकारी दिएका थिए ।
नेपालले नयाँ नक्सा जारी गरेपछि भारतले भने आफूलाई अस्वीकार्य भएको प्रतिक्रिया दिएको छ । नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक निर्माण र भारतीय सुरक्षाकर्मीको क्याम्प राखेको छ ।